Sagun Khabar
दशरथचन्द माविको अभिभावक भेला सम्पन्न, प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीले अभिभावकहरुको भेला गर्दै विद्यालयमा सञ्चालन गरिएको त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

बिहीबार विद्यालयमा अभिभावकहरुको भेलामा परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । बालबालिकाहरुको शैक्षिक अवस्थाका बिषयमा अभिभावकहरुलाई समेत जानकारी होस् भन्ने उद्देश्यले अभिभावक भेला बोलाएर परीक्षाफल प्रकाशित गरिएको उनले बताए । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकहरु पनि उत्तिकै सक्रिय हुनुपर्ने आवश्यकता रहेकाले अभिभावक भेलाको आयोजना गरिएको प्रधानाध्यापक चन्दले बताए । भेलामा अधिकांश अभिभावकहरुको उपस्थिती रहेको थियो । उनले भने, ‘हामीले विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रयास गरेका छौं । यसमा अभिभावकहरुको पनि साथ खोजेका छौं । त्यसैले बेला–बेला अभिभावकहरुको भेला बोलाउने गरेका छौं ।’

वडा सदस्य नन्दा भट्ट समेतको उपस्थितीमा अभिभावक भेलाको आयोजना गरिएको र उक्त भेलामा परीक्षाफल समेत प्रकाशित गरिएको प्रधानाध्यापक चन्दको भनाइ छ । 

सामुदायिक विद्यालयमा अध्ययनरत आफ्ना बालबालिकाहरुको शैक्षिक अवस्थाका बिषयमा अभिभावकहरुले पनि चासो राख्नुपर्ने भएकाले भेलामै परीक्षाको नतिजा सार्वजनिक गरिएको विद्यालयले जनाएको छ । 

दशरथचन्द मावि सुन्दरखालीलाई नमूना सामुदायिक विद्यालयको रुपमा विकसित गर्ने आफूहरुको योजना रहेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दले बताइन् । आफू दोश्रो कार्यकालका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएको बताउँदै उनले विद्यालयमा केही सुधार गर्ने अठोट रहेको उनले सुनाइन् । 

कक्षा १२ सम्मको पढाइ हुने दशरथचन्द मावि सुन्दरखालीले शैक्षिक गुणस्तर सुधारका लागि कक्षाकोठाको पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको छ । 

अभिभावकहरुको भेलामा दशरथचन्द माविका पूर्व विद्यार्थी, जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर टेकेन्द्र नेपाली, इन्जिनियर अशोक नेपाली र अमित नेपालीका बुवा धनीराम दमाईलाई सम्मान समेत गरिएको प्रधानाध्यापक चन्दले बताए ।  

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update