Sagun Khabar
दशैँ नजिकिएसँगै भारत गएका नेपाली घर फर्कदैँ 
फाइल फोटो

बैतडी–बडादशैँ नजिक आएपछि रोजगारीका लागि छिमेकी देश भारत गएका नेपालीहरु घर फर्कन थालेका छन् । 

सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको जनाइएको छ । 

भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटबाट घर फर्कने नेपालीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय झुलाघाटले जनाएको छ । मौसमी रोजगारीका लागि सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरु चाडपर्वका लागि घर फर्कन थालेका इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख, बरिष्ठ प्रहरी नायव निरीक्षक गंगाराम टमाटाले बताए । 

झुलाघाट नाकाबाट पछिल्ला केही दिन यता दैनिक ७०÷८० जना जति स्वदेश फर्किरहेका टमाटाले बताए । उक्त नाकाबाट मौसमी रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाका नागरिक स्वदेश फर्किरहेका उनले बताए । भारतको झुलाघाट, पिथौरागढ क्षेत्रमा मौसमी रोजगारीका लागि गएकाहरु फर्कन थालेका उनले बताए । 

बिसु पर्व मनाएर रोजगारीका लागि भारत पसेकाहरु दशैँका लागि यो नाका भएर फर्कने गरेका छन् । यस्तै भारतका विभिन्न शहरमा रोजगारीका लागि गएकाहरु पनि झुलाघाट नाकाबाट फर्किरहेका टमाटाले बताए । 

दशैँको समयमा सुदूरपश्चिमका जिल्लाहरुमा कुलदेवताको पूजाआजा हुने, जात्रा–मेला हुने भएकाले भारत पसेकाहरु फर्कने गरेका छन् । 

यस्तै कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।

सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली भारतका विभिन्न शहरबाट रोजगारी गरी फर्किएका छन् । हरेक दिन यो नाकाबाट भित्रिनेको सङ्ख्या बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । 

यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि स्वदेश फर्कनको संख्या बढ्दै गएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update