Sagun Khabar
बैतडीको सुर्नयामा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट स्वास्थ्य संस्थाहरुलाई सम्मानित गरेको छ । 

स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा आयोजना गर्दै पालिकाभित्र न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट देखिएका स्वास्थ्य संस्थाहरुलाई सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

न्यूनतम सेवा मापदण्डमा वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकी प्रथम, वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकी दोश्रो र वडा नं ३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकी तेश्रो भएका छन् । 

उत्कृष्ट स्वास्थ्य संस्थाहरुलाई पालिकाकातर्फबाट कदरपत्रसहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

स्वास्थ्य संस्थाभित्र सुशासनको अवस्था, व्यवस्थापकीय अवस्था र प्राविधिक सेवालाई आधार मानेर उत्कृष्ट स्वास्थ्य संस्था छनौट गरिएका महराले बताए । 

बार्षिक समीक्षा गोष्ठीमा आठ ओटै वडामा रहेका १५ ओटा स्वास्थ्य संस्थाहरुले गत आर्थिक बर्षमा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमहरुको बारेमा छलफल भएको बताइएको छ । 

समीक्षा गोष्ठीमा गत आर्थिक बर्षका उपलब्धि र चुनौतीका बिषयमा छलफल भएको छ भने आगामी बर्षको कार्ययोजना समेत तयार पारिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले स्वास्थ्य क्षेत्र सुधारको लागि पालिका कटिबद्ध रहेको बताए । समस्या रहेका ठाउँको पहिचान गरि ती समस्या समाधानमा लाग्ने उनले प्रतिबद्धता जनाए । 

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । 

बार्षिक समीक्षा कार्यक्रममा पालिका अध्यक्ष, वडा अध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुख लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update