
बैतडी –बैतडी कारागारबाट भागेका दुई जना कैदीबन्दी अझै फरार रहेका छन् ।
जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते कारागारबाट भागेका ६० जना फर्किसकेका छन् भने दुई जना अझै फरार रहेका छन् ।
कारागारको बन्दीगृहबाट ५४ जना कैदीबन्दी र ८ जना थुनुवा भागेका थिए । ती मध्ये ५२ जना कैदीबन्दी र ८ जना थुनुवा कारागार फर्किसकेका कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।
फरार रहेका दुई जना कैदीबन्दीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । उनीहरुको हुलियासहित सबै ठाउँमा जानकारी पठाइसकेको भएपनि फेला पार्न नसकिएको उनले बताए । फर्किन बाँकी कैदीमा एक जना सवारी अंगभंग र एक जना जबरजस्तीकरणी मुद्दाका रहेका छन् ।
फरार रहेका कैदीबन्दीमध्ये चार जनालाई भारतको पिथौरागढबाट पक्राउ गरिएको थियो । धेरैजसो भने आँफै सम्पर्कमा आएका कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन् ।
बाहिर जिल्लाका कारागारबाट भागेर आएका चार जना कैदीबन्दी बैतडी कारागारमा सम्पर्कमा आएका थिए ।
चार जनामध्ये एक जना काठमाण्डौं, एक जना दार्चुला, एक कञ्चनपुर र एक जना मकवानपुर जिल्ला कारागारबाट भागेर आएका थिए ।
उनीहरुमध्ये मकवानपुर र दार्चुलाबाट भागेर आएका कैदीबन्दीलाई दार्चुला कारागार पठाइएको छ भने कञ्चनपुरबाट भागेर आएका कैदीबन्दीलाई कञ्चनपुर पठाइएको भण्डारीले बताइन् ।
कारगार कार्यालय जगन्नाथ देवल काठमाण्डौंबाट भागेर आएका कैदीबन्दीलाई पनि बैतडी कारागारमै राखिएको प्रमुख भण्डारीले बताइन् ।
कारागार कार्यालय बैतडीको बन्दीगृहमा २५ जना कैदीबन्दी बस्ने क्षमता रहेको भएपनि अहिले ६२ जना रहेका छन् ।