Sagun Khabar
सिगासको ‘शीर’ भागमा आज पूजा लाग्दै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतस्थित प्रसिद्ध सिगास देवताको ‘शीर’भागमा आज पूजा लाग्दैछ । 

सिगास देवताको ‘शीर’भागमा हरेक बर्ष आश्विन शुक्ल पञ्चमीका दिन पूजाआजा सहित जात्रा लाग्ने कैलपाल देवता धामी नवराज अवस्थीले बताए । ‘शीर’भागमा पूजा लागेपछि मात्रै मुख्य मन्दिरमा जात्रा हुने परम्परा रही आएको छ । 

सिगास देवताको मुख्य मन्दिरमा बडादशैँको राति पूजाआजासहित जात्रा हुने मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए । सिगास देवताको मन्दिरमा जात्रा भएपछि असोज शुक्ल एकादशीका दिन कैलपाल मन्दिरमा जात्रा हुने बताइएको छ । 

सिगास देवतालाई बरदानी शिलाको रुपमा मान्ने गरिएको कैलपाल देवताका धामी अवस्थीले बताए ।  सिगास गाउँपालिकामा रहेको सिगास धुराकै अंशका रुपमा सिगास देवतालाई पूजाआजा गर्ने गरिएको छ । 

भगवान शिवको शान्त स्वरुपलाई सिगास भन्ने गरिएको जानकारहरुले बताएका छन् । कोखेतस्थित घना जंगलमा अवस्थित सिगास धामलाई बरदानी शिलाको रुपमा लिने गरिएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । सिगास धाममा पूजाअर्चना गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

सिगास धाममा हरेक बर्ष बिसुको दिन जात्रा हुने गर्दछ भने असोजको नवरात्रमा दशैंको राति पूजाआजा सहित जात्रा हुने गर्दछ । यस्तै चैते नवरात्रमा चैत्राष्टमीको दिन सिगासको भण्डार घरमा पूजाआजा हुने गरेको जानकारहरुले बताएका छन् । 

सिगास धामको दर्शन गर्नका लागि चोखोभोको रहेर दर्शन गर्नुपर्ने परम्परा रही आएको छ । सिगास धामको आसपासमा गुफा समेत रहेको र सो गुफालाई पनि सिगासकै गुफाको रुपमा मान्ने गरिएको छ । 

सिगास देवताको प्रवक्ताको रुपमा कैलपाल देवता रहेको र सिगासका वाणी कैलपाल देवताले बोल्ने जनविश्वास रही आएको बताइन्छ । परापूर्व कालमा फुटलिङ्ग शिलाको रुपमा प्राप्त भएको सिगास देवतासँग शक्ति समेत रहेको बताइएको छ । शिवसंगै शक्ति पनि भएकाले दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने गरेको बताइएको छ । 

मनोकामना पूर्ण गर्ने देवताको रुपमा सिगास देवता रहेकाले स्थानीयहरुले श्रावणको महिना समेत पूजाआजा गर्ने गरेका छन् । सिगास देवताको आसपासमा भेलेलिङ्ग, अनिरुद्र, कैलपाल, भूमीराज लगायतका देवताहरुको बासस्थान रहेको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update