Sagun Khabar
बैतडीको भञ्ज्याङमा इभी दुर्घटना, १० जना घाइते 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दश जना घाइते भएका छन् । 

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सु.प.प्र.००१ ज ०६२० नम्बरको जिप शनिबार दिउँसो ३ बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो । 

जिपमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । घाइते मध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको उनले बताए । 

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ बर्षीय भुवन साउँद, २८ बर्षीया यशोदा साउँद, ५ बर्षीय कोबित पन्त, २८ बर्षीया पवित्रा पन्त,१९ बर्षीय नरेश बोहरा २८ बर्षीया वसन्ती अवस्थी र १७ बर्षीय विकास साउँद रहेका छन् । 
यस्तै पुर्चौंडी नगरपालिका –४ का १९ बर्षीया कमला धानुक, सोही ठाउँका २२ बर्षीय प्रकाश धानुक र पुर्चौंडी –३ की २२ बर्षीया सावित्री धामी पनि घाइते भएका छन् । 

घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरी निरीक्षक बडूले बताए । 

इभी चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । इभी सडकबाट करीब २५ मिटर तल खसेको बताइएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update