Sagun Khabar
बडा दशैँ : आज देवी कात्यायनीको पूजाआराधना गरिँदै 

बैतडी – बडादशैँ अन्तर्गत आज देवी कात्यायनीको पूजा आराधना गरिँदैछ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रही आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन गएको सोमवार असोज ६ गते दशैँ घर वा पूजा कोठामा विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघण्टा, चौथो र पाँचौ दिन कुष्माण्डा देवीको पूजा गरिएको थियो हिजो स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा गर्ने गरिएको छ । 

नवरात्र भनिने दुर्गा आराधनाको पर्व यसवर्ष भने १० रात्र र ११ दिनको हुन पुगेको छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

तिथी घटबढका कारण कतिपय ठाउँमा महासप्तमी पर्व समेत मनाउँदैछन् । दिनगन्तीका हिसाबले पूजाआजा गर्ने चलन रहेका ठाउँमा महासप्तमी पर्व मनाउने गरिएको हो । 

बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा दशैंको अवसरमा पूजाआजा र जात्रा भइरहेका छन् । 

जिल्लाका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङाशैनी, कालशैनी लगायतका देवी मन्दिरमा जात्रा तथा पूजा आराधना भइरहेको छ । 

यस्तै सिगास, केदार, जगन्नाथ, उदयदेव, शिवनाथ, वासुलिङ्ग, भूमीराज, गणमेश्वर, महारुद्र लगायतका मन्दिरहरुमा पनि दशैंको अवसरमा जात्रा तथा पूजा अर्चना भइरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update