
बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले शान्तिपूर्ण तरीकाले चाडपर्व मनाउन आग्रह गरेको छ ।
चाडपर्व, संस्कृति र परम्परा आपसी सदभाव र एकता झल्काउने मौलिक धरोहर भएकाले यो बिषयमा सबैले ध्यान दिनुपर्नेमा प्रशासनले आग्रह गरेको छ ।
चाडपर्वको समयमा कालोबजारी, महंगी बढ्ने गुनासा आउने भएकाले त्यस्तो नगर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।
यस्तै चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
यस्तै चाडपर्वको समयमा सार्वजनिक ठाउँ होहल्ला नगर्न र मार्यादित ढंगले चाडपर्व मनाउन प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । चाडपर्वको समयमा सबै धर्म, सम्प्रदायका मानिसहरुको एकता र सदभावलाई कायम राख्न पनि अनुरोध गरिएको छ ।
यस्तै तिहारको समयमा खेलिने देउसी ÷भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरु राति ९ बजेसम्म मात्रै मार्यादित र शान्तिपूर्ण तरीकाले खेल्न आग्रह गरिएको छ ।
कसैले कानुन विपरीतका कार्य गरिरहेको थाहा भएमा नजिकको प्रहरीलाई खबर गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।