
बैतडी –बैतडीको पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा लाग्ने जात्रालाई शान्तपूर्ण र व्यवस्थित बनाउन वडा कार्यालयले पाटन बजार क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।
वडा कार्यालयले एक सूचना जारी गर्दै महाष्टमी र महानवमीका दिन चार किल्लाभित्र मदिराको कारोबार र सेवनमा रोक लगाएको छ । यही असोज १४ र १५ गते उदयदेव मन्दिरमा जात्रा लाग्ने र सो समयमा मदिराको कारोबार र सेवनमा रोक लगाएको वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए ।
मेला अवधिभर पूर्वमा नेपाल विद्युत प्राधिकरणको युनिट कार्यालय, पश्चिममा गोइडाखोला–पञ्चेश्वर सडक, उत्तरमा कृष्ण मावि पाटन र दक्षिणमा डोबरा टोल तथा बसर सडकको क्षेत्रमा मदिराको कारोबार र सेवनमा रोक लगाएको उल्लेख गरिएको छ ।
जात्रालाई व्यवस्थित र शान्तपूर्ण रुपमा सम्पन्न गर्न उक्त निर्णय गरिएको र कसैले उल्लंघन गरेमा कानुन अनुसार कारवाही हुने वडा अध्यक्ष बिष्टले बताए ।
यस्तै मेलाको दिन पाटनस्थित बसपार्कमा मात्रै सवारी साधन पार्किङ गरिदिन वडा कार्यालयले आग्रह गरेको छ । जथाभावी सवारी साधन पार्किङ गर्दा सडक दुर्घटनाको जोखिम हुने भएकाले बसपार्कमा मात्रै पार्किङ गर्न आग्रह गरिएको वडा अध्यक्ष बिष्टले बताए ।