
बैतडी –बडा दशैं अर्थात नवरात्र अन्तर्गत आज महासप्तमीका दिन नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । काललाई समेत भएकाले यी देवीलाई कालरात्रि भनिएको हो ।
नवरात्रका नौ दिन दुर्गा भवानीका ९ ओटा स्वरुपको पूजा आराधना गर्ने परम्परा रही आएको छ । पहिलो दिन शैलपुत्री, दोश्रो ब्रह्मचारिणी, तेश्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाआराधना गर्ने परम्परा रही आएको छ ।
नवरात्रकानौ दिनमा घटनास्थपना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउने गरेका छन् ।
बडादशैँको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजा अर्चनाका साथै जात्रा समेत भइरहेका छन् ।