
बैतडी - बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा हिजोदेखि जात्रा शुरु भएको हो ।
घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा हिजोदेखि जात्रा शुरु भइ आज महाष्टमीका दिन बलिसहित जात्रा समापन भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । आज २६० रागाँ र १ सय ५० बढी बोकाको बली दिइएको भण्डारे बोहराले बताए । यो बर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको आठौं दिन महासप्तमी परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सोही अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा पनि आज महाष्टमी मानिएको बोहराले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगि दर्शन गरेका छन् ।
नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आएका भण्डारे बोहराले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ । मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । यो बेलाको जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।