
बैतडी –दशैंको समयमा बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । दशैंको घटस्थपनादेखि पूर्णिमासम्मको १५ दिनको अवधिमा जिल्लाभरी हजारौं धार्मिक पर्यटकको आगमन भएको हो ।
जिल्लाका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनी लगायतका शक्तिपीठहरुमा दर्शनार्थीहरुले दर्शन गरेका हुन् । यस्तै सिगास,केदार, उदयदेव, अनिरुद्र,डाँडाबाघ,गणमेश्वर, देवताल, महारुद्र, दोगडाकेदार, शिवनाथ लगायतका मन्दिरहरुमा समेत हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् ।
शक्तिपीठहरुमा दशैंको समयमा बलिसहित जात्रा हुने भएकाले भाकलसहित दर्शनार्थीहरु पुग्ने गरेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । उनले भने,‘दशैँको समयमा यहाँका शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत यहाँ आउने गर्दछन् ।’
दशैँको समयमा घटस्थापनादेखि पूर्णिमासम्म देवीका मन्दिर तथा अन्य मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यो बर्षको दशैँमा अन्य बर्षजस्तै जिल्ला बाहिर र भारतबाट समेत आएका दर्शनार्थीहरुले शक्तिपीठहरुको दर्शन गरेको त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा सैयौं भारतीय दर्शनार्थीहरुले दशैँको समयमा दर्शन गरेको उनले बताए । उनले भने, ‘सीमामा रहेका भारतीयहरुले समेत त्रिपुरासुन्दरीलाई इष्टदेवीको रुपमा पूजाआजा गर्ने गर्दछन् । त्यसैले दशैँको समयमा यो मन्दिरमा भारतीय दर्शनार्थीहरुको उल्लेख्य सहभागिता रहने गर्दछ ।यो बर्ष पनि त्रिपुरासुन्दरी मन्दिरमा हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् ।’
बसाईसराइ गरेर गएकाहरु समेत थातथलोमा फर्कने भएकाले दशैँको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । शरदीय नवरात्रमा पूजापाठसहित जात्रा हुने भएकाले दर्शनार्थीहरुको संख्या बढ्ने गरेको उनले बताए ।
बसाइसराई गरेर गएकाहरु समेत दशैंको समयमा पुख्र्यौली थलोमा फर्कने गरेका छन् । दशैंको १५ दिन देवीदेवताहरुका मन्दिरहरुमा पूजाआजासहित जात्रा हुने भएकाले दर्शन गर्नेहरुको भीडभाड बढेको थियो ।
सुर्नया गाउँपालिका–६ स्थित सिगास, कैलपाल मन्दिरमा यो बर्ष लामो समयपछि जात्रा भएकाले टाढाका दर्शनार्थीहरु समेत पुगेका कैलपाल देवता धामी नवराज अवस्थीले बताए । सिगास मन्दिरमा विजयादशमीको राति र कैलपाल मन्दिरमा एकादशीको दिन जात्रा हुने गरेको उनले बताए ।
शक्तिपीठ तथा मन्दिरहरुको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीस्थित डिलाशैनी मन्दिरका मूलपूजारी हरिशचन्द्र भट्टले बताए । उनले भने,‘दशैंको समयमा बैतडीमा अन्य समयको तुलना धार्मिक पर्यटकहरु आउने गरेका छन् । विभिन्न शक्तिपीठ र मन्दिरहरुमा दशैंको समयमा भीड लागेको थियो ।’
दशैँको १५ दिन अन्य समयको तुलनामा बजारमा समेत चहलपहल बढेको स्थानीय व्यापारी रामबहादुर टेरले बताए । शक्तिपीठ तथा मन्दिरहरुमा लागेको जात्राको समयमा बजार चलायमान भएको उनले बताए ।