
बैतडी –दशैँको अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा २१÷२१ वटा सवारीसाधन दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु हुँदा ३७ घाइते भएका छन् ।
बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु भएको छ । बैतडीमा १४ जना घाइते भएका छन् ।
दशैंको अवधिमा दार्चुलामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
डडेल्धुरामा भएको एउटा सवारी दुर्घटनामा ७ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।
दशैंको समयमा डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ ।