Sagun Khabar
बैतडी कारागारबाट भागेका ६१ कैदीबन्दी फर्किए 

बैतडी –जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६१ कैदीबन्दी कारागार फर्किएका छन् । ६२ जनामध्ये एक जनामात्रै फरार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

गएको भदौ २४ गते राति बन्दीगृहमा तोडफोड र आगजनी गरेर ६२ जना कैदीबन्दी तथा थुनुवा भागेकोमा ६१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारागारमा पठाइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

जबरजस्तीकरणी मुद्दाका एक जना अझै फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

प्रहरीले फरार कैदीबन्दीको खोजीका लागि अभियान सञ्चालन गरेको र यसमा सफलता मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । 

विभिन्न मुद्दामा सजाय भोगीरहेका कैदीबन्दी तथा थुनुवा एकाएक भागेपछि समाजमा डर त्रास फैलिएको थियो । तर प्रहरीको सक्रियताले एकजना बाहेक सबैलाई कारागार फर्काउन सफल भइएको प्रहरी नायव उपरीक्षक रायले बताए । 

कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवाको हुलियासहितको जानकारी सबै ठाउँमा पठाएपछि प्रहरीलाई काम गर्न सहज भएको प्रहरी निरीक्षक पाण्डेयले बताए । चार जना कैदीबन्दीलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको थियो । 

पाटन नगरपालिका–६ घर भएका राजेश लुहार जबरजस्तीकरणी मुद्दामा सजाय भोगीरहेका थिए । उनी भदौ २४ गते अरु कैदीबन्दीसँगै भागेका थिए । उनको पनि व्यापक रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । उनलाई यथाशीघ्र सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।  

कारागार कार्यालय बैतडीको बन्दीगृहमा २५ जना कैदीबन्दी बस्ने क्षमता रहेको भएपनि अहिले ६२ जना रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापनमा समस्या भएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update