Sagun Khabar
बैतडीको भौनेली स्वास्थ्यचौकीमा गर्भवती आमाका लागि निशुल्क अल्ट्रासाउण्ड सेवा सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीमा गर्भवती आमाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ । 

स्वास्थ्यचौकीले ग्रामीण अल्ट्रासाउण्ड मेसिन प्राप्त गरेपछि नियमित रुपमा गर्भवती आमाहरुका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । 

सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएको हो । 

स्वास्थ्यचौकीमा अल्ट्रासाउण्डका लागि तालिम प्राप्त जनशक्ति र मेसिन दुवै भएपछि नियमित रुपमा सेवा सञ्चालन गरिएको महराले बताए । स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा दिइरहेको उनले बताए । 

यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवती आमाहरुको अल्ट्रासाउण्ड हुने गरेकोमा अब नियमित रुपमा सेवा सञ्चालन हुने बताइएको छ । 

गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्दा पेटभित्रको बच्चा र आमा दुवैको स्वास्थ्य अवस्थाको बिषयमा थाहा हुने अनमी पुष्पा धानुक महराले बताइन् । गर्भावस्थामा कुनै जटीलता भएमा समयमै पत्ता लाग्ने र यसले आमा र बच्चा दुवैको ज्यान जोगाउन मद्दत पुग्ने उनले बताइन् । 

सुर्नया गाउँपालिकाले हरेक बर्ष शिविरमार्फत गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न आफूहरुले अभियान सञ्चालन गरिरहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update