Sagun Khabar
सिगास गाउँपालिकाको बार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न 

बैतडी - बैतडीको सिगास गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक समीक्षा र चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

गाउँपालिकाको केन्द्र गर्जेमा आयोजना गरिएको बार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी,स्थानीय नागरिक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
बार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्षमा ५९ करोड ९५ लाख ६६ हजार ५३ रुपैयाँ बजेट विनियोजना गरिएको जानकारी दिइएको छ । गाउँपालिकाका आन्तरिक लेखा परीक्षक टीकासिंह धामीले गत आर्थिक बर्षमा सम्पन्न भएका कामहरुको सारांश प्रतिवेदन पेश गर्दै गत आर्थिक बर्षमा १ सय ९ योजनाहरुको पूर्ण रुपमा भुक्तानी भएको र १४ योजना क्रमागत रहेको जानकारी दिए । 

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८४ जनाले रोजगार प्राप्त गरेको, ४० जनाले सीपमूलक तालिम प्राप्त गरेको, १ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको, ४० जना एकल महिलाहरुलाई बाख्रा वितरण गरेको जानकारी दिइएको छ । 

यस्तै गाउँपालिकाले गत आर्थिक बर्षमा एमबीबीएस अध्ययनका लागि एकजनालाई पूर्ण छात्रवृति प्रदान गरेको, एक जनालाई आंशिक छात्रवृति प्रदान गरेको र २४ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

यस्तै गत आर्थिक बर्षमा विपद्जन्य घटनाबाट प्रभावित भएका ४० घरपरिवारलाई गाउँपालिकाकातर्फबाट राहत रकम उपलब्ध गराएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । गत आर्थिक बर्षमा न्यायिक समितिमा ६ ओटा उजुरी परेकोमा सबै फच्र्यौट भएका गाउँपालिका उपाध्यक्ष धाना धामीले बताइन् ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर चालु आर्थिक बर्षमा बजेट विनियोजन गरेको अध्यक्ष धामीले बताए। सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको गाउँपालिका अध्यक्ष धामीका साथै उपाध्यक्ष धाना धामी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, वडा अध्यक्ष लगायतले जवाफ दिएका थिए । 

सिगास गाउँपालिकाको विकासका लागि आफू अहोरात्र लागिपरेको बताउँदै अध्यक्ष धामीले सबैको सहयोग आवश्यक रहेको बताए । विकास निर्माणका हरेक काममा सहमति र सहकार्य आवश्यक रहेको बताउँदै उनले विभिन्न ठाउँमा विरोधका कारण पनि विकासका काम रोकिएका बताए । उनले भने, ‘समाजको विकासका निमित्त सबैको सहयोग आवश्यक छ । यसमा सबैले सकारात्मक सहयोग गर्नुपर्छ ।’


सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष धामीले पालिकाको समग्र विकासका लागि आफू नेतृत्वको टीम लागिपरेको बताए ।  


 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update