
बैतडी –बैतडीको सिगास गाउँपालिका घर भएका एक युवक भारतको दिल्लीबाट बेपत्ता भएका छन् ।
सिगास गाउँपालिका–३ कोटिली घर भएका ३० बर्षीय दलबीरसिंह धामी गएको १० दिनदेखि बेपत्ता रहेको उनका भाइ खगेन्द्रसिंह धामीले जानकारी दिए ।
रोजगारीको सिलसिलामा ५ महिनाअघि दिल्ली पुगेका धामी घर फर्कने क्रममा बाटोबाटै बेपत्ता भएका बताइएको छ । परिवारको नियमित सम्पर्कमा रहेका धामी घर फर्कने बेला अचानक सम्पर्क बाहिर रहेका उनका भाइले बताए ।
रोजगारीका लागि भारत पुगेका धामी उतै बेपत्ता भएपछि परिवारजन चिन्तामा परेका छन् । बेपत्ता दलबीरको घरमा श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन् । परिवार पाल्नकै लागि भारत पुगेका धामी बेपत्ता भएपछि परिवारजन समस्यामा परेको छ ।
कसैले धामीलाई फेला पारेमा वा उनको बारेमा जानकारी प्राप्त गरेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
दलबीरसिंह धामीलाई कसैले फेला पारेमा उनका भाइ खगेन्द्रसिंह धामीको मोबाइल नम्बर ९८६८७३७६९८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।