Sagun Khabar
बैतडीमा यो बर्ष झाडापखालाबाट दुई जना बालबालिकाको मृत्यु 

बैतडी –बैतडीमा यो बर्ष झाडापखालाबाट दुई जना बालबालिकाको मृत्यु भएको छ । गएको वैशाखदेखि अहिलेसम्म झाडापखालाका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

गाउँघरमा बिरामी हुँदा अस्पताल भन्दा पनि धामीझाक्रीको झारफुकमा विश्वास गर्ने प्रवृतिले समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

झाडापखाला भएको अन्तिम अवस्थामात्रै बिरामीहरुलाई उपचारमा ल्याउने परिपाटीले बालबालिकाहरुको ज्यान जाने गरेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

गएको वैशाख १३ गते बैतडीको सुर्नया गाउँपालिका –५ का १५ बर्षीय निरज विश्वकर्माको झाडापखालाबाट निधन भएको थियो भने गएको साउन २६ गते डिलाशैनी गाउँपालिका–४ की १३ बर्षीया आरती रोकायाको निधन भएको थियो । 

विश्वकर्मालाई अन्तिम अवस्थामा उपचारका लागि अस्पताल पुर्याउँदा मृत्यु भएको थियो भने रोकायाको समयमै औषधि उपचार नहुँदा घरमै मृत्यु भएको थियो । आरतीका भाइलाई समेत झाडापखाला लागेको र उनलाई समयमै उपचारको दायरमा ल्याउँदा उनको ज्यान जोगिएको बताइएको छ । 

गाउँघरमा अझै पनि बिरामी भएमा धामीझाक्री कहाँ जाने अन्धविश्वासका कारण समस्या हुने गरेको हाडाकोट स्वास्थ्यचौकीका इञ्चार्ज विरेन्द्र बोहराले बताए । 

बैतडीमा गत आर्थिक वर्षमा ४ हजार ५३९ जनामा झाडापखाला देखिएको स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ । सबै बिरामीको उपचारपछि मात्रै स्वास्थ्य ठिक भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन गाउँघरमा स्वास्थ्यचौकीहरु सञ्चालनमा रहेका भएपनि सबै नागरिकको अझै पहुँच पुग्न सकेको छैन् । 

झाडापाखाला लगायतका रोगहरु फोहोर पानी, सडेगलेका र फोहोर खानेकुराबाट हुने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै प्रयोग गर्ने, व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले आग्रह गरे ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update