
बैतडी –बैतडीमा राति ९ बजेसम्ममात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै तिहारको समयमा खेलिने देउसी–भैलो राति ९ बजेसम्ममात्रै खेल्न पाइने उल्लेख गरेको छ ।
तिहारलाई आपसी सद्भाव कायम गर्ने, मौलिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने, भाइचरा बढाउने पर्वको रुपमा मनाउन र न्यायपूर्ण समाज निर्माणको प्रेरकको रुपमा उपयोग गर्न आग्रह गरिएको छ ।
तिहारको समयमा भुइचम्पा, अतिसबाजी, पटाका लगायतका प्रज्वलनशील पदार्थको प्रयोग नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै दीपावलीको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।
चाडपर्वको समयमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
चाडपर्वको समयमा बजारमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने लगायतका प्रवृतिहरु देखिने भएकाले त्यसो नगर्न सम्बद्ध सबैलाई आग्रह गरिएको छ । प्रशासनले जारी गरेको सूचनाको कसैले अवज्ञा गरेमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।