Sagun Khabar
मैथिल समुदायमा छठ पर्वको रौनक शुरू, मधेश प्रदेशमा थप एक दिन सार्वजनिक बिदा

काठमाण्डौं –मैथिल समुदायमा हर्सोल्लाषपूर्वक मनाउने छठ पर्वको तयारी शुरू भएको छ । अन्नकुट तथा गोधन पर्व र भ्रातृद्वितिया पर्व सम्पन्न भए लगत्तै मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी शुरू गरेका हुन् ।

छठ पर्वका लागि अहिले पोखरीहरुलाई सरसफाई तथा सजावटको कार्य भइरहेको छ भने बजारमा पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिदै छ ।

यसैबीच मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज विज्ञप्ति निकालेर छठको उदाउँदो सूर्यलाई अघ्र्य दिने दिन अर्थात् कार्तिक ११ गते मंगलवार पनि सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

छठ पर्वको मुख्य दिन सोमवार भने संघीय सरकारले नै सार्वजनिक विदा दिएको छ । छठ पर्व विशेष गरी मिथिला क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले धूमधामका साथ मनाउने गर्छन् । पहिले तराई मधेशमा मनाइने यो पर्व पछिल्लो समयमा काठमाण्डौ उपत्यका सहित पहाडका जिल्लाहरुमा समेत धुमधामका साथ मनाउन थालिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update