बैतडी –बैतडीका १८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । गएको तीन महिनामा जिल्लाभरीका १८ जनामा डेङ्गी संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए ।
स्वास्थ्य कार्यालयमा प्राप्त तथ्यांक अनुसार मेलौली नगरपालिकाका ८ जना, दशरथचन्द नगरपालिकाका ६ जना, पुर्चौंडी नगरपालिकाका ३ जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी संक्रमण देखिएको उनले बताए ।
गएको साउन, भदौ र असोज गरेर तीन महिनामा १८ जनामा डेङ्गी देखिएको बडालले बताए । जिल्लाका अन्य स्थानीय तहमा डेङ्गीका बिरामी फेला नपरेका उनले बताए ।
गत बर्ष जिल्लाभरीका १ सय ८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो । गत बर्षको तुलनामा यो बर्ष डेङ्गी संक्रमण कम देखिएको बडालको भनाइ छ ।
लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरी सञ्चालन भएकाले डेङ्गीका बिरामी कम भएका उनले दाबी गरे ।
एडीस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । त्यसैले डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिए ।
यो महिनामा पनि डेङ्गी संक्रमणको जोखिम कायमै रहेकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा उनले जोड दिए ।
यो बर्ष प्रत्येक स्थानीय तहमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी रुपमा सञ्चालन भएकाले डेङ्गी संक्रमितको संख्या कम भएको बताइएको छ ।
डेङ्गी संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्ने गर्दछन् ।
यस्ता खालका लक्षण देखिएमा डेङ्गी जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेङ्गी जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिइएको छ ।





