बैतडी–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा यही कार्तिक १२ र १३ गते हुने भएको छ ।
रणशैनी भगवतीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा राँगा तथा बोकाको बलि समेत दिने चलन रही आएको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए ।
त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल पक्षको षष्ठी तिथीबाट तीनरात अहोरात्र बस्ने चलन रही आएको छ ।
नेपालका उत्कृष्ट एक सय धार्मिक गन्तव्यको रुपमा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका स्थानीय आनन्दमणी भट्टले बताए । जात्राको समयमा भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गरेका उनले बताए ।
कार्तिक शुक्ल अष्टमीका दिन भगवती भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने चलन रही आएको छ । कार्तिक शुक्ल नवमीको दिन मन्दिरबाट कापडीगाउँमा भगवतीको सवारी गराइने र त्यसपछि मञ्चमा सवारी गराइने थापाले बताए ।
कार्तिक शुक्ल नवमीकै दिन भगवतीको भण्डारलाई भण्डारगृहमा लग्ने चलन रही आएको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरमा १४ औं शताब्दीबाट पूजाआजा हुँदै आएको विश्वास गरिएको छ ।
त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा धनधान्य, ऐश्वर्य र सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।
मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउनका लागि मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित घोषणा गरिएको थापाले बताए ।
यस्तै मन्दिरमा अहोरात्र बस्ने भक्तजनहरुका लागि पूजारागाउँका थापा परिवारको तर्फबाट ओढ्ने–ओछ्याउने दुई सय सेट कपडाको बन्दोबस्त गरिएको थापाले बताए ।





