बैतडी –बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’ यही कार्तिक १८ र १९ गते हुने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेलौली भगवती मन्दिरमा ‘देहीजात’ लाग्ने गर्दछ ।
मेलौली नगरपालिका १ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’मा टाढाटाढाका भक्तजनहरु आउन थालेका मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । जात्रामा राँगाको बलि दिइने गरेको उनले बताए ।
‘देहीजात’मा मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने क्रम शुरु भएको नायकले बताए । यो जात्रालाई आफन्तजनहरुले भेटघाटको रुपमा समेत लिने गर्दछन् । टाढाटाढाका आफन्तबीच भेट हुने भएकाले सामाजिक सदभावका लागि यो जात्रा निकै महत्वपूर्ण रहेको बताइएको छ ।
यस्तै जात्रामा स्थानीय उत्पादनले समेत बजार पाउने गरेको छ । यो जात्रामा यहाँको लोकप्रिय खाना माँडा समेत पाइने गरेको छ । आफन्तजन तथा इष्टमित्रहरुका लागि जात्रामा आउनेहरुले माँडा लिएर आउने प्रचलन रहेको छ ।
बैतडीमा रहेका प्रसिद्ध शक्तिपीठहरुमध्येको मेलौली भगवती मन्दिरको जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् । धार्मिक मात्रै नभएर स्थानीयस्तरको व्यापार व्यवसाय प्रवद्र्धनमा पनि यो जात्राको निकै ठूलो महत्व रहेको छ ।





