बैतडी –बैतडीको दोगडाकेदारमा यही कात्तिक १७ गतेदेखि रामलीला महायज्ञ हुने भएको छ । संस्कृति संरक्षणको उद्देश्यसहित आयोजना गरिने रामलीला महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजक दोगडाकेदार सांस्कृतिक समाजले जनाएको छ ।
उक्त रामलीला महायज्ञ श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ । सांस्कृतिक समाजका सदस्य एवं श्रीकोट बहुमुख्री क्याम्पसका प्रमुख दानसिंह कार्कीले रामलीलाको तयारी अन्तिम चरण पुगेको जनाउँदै कामलाई तीव्रता दिइएको बताए । उनका अनुसार महायज्ञमा अभिनय गर्ने कलाकारका लागि तालिमसहित अन्य व्यवस्थापनको तयारी भइरहेको छ ।
मार्यादा पुरुषोत्तम भगवान रामको जीवनगाथामा आधारित नाटक भएकाले सभ्य र सुसंस्कृत नागरिक निर्माणका लागि महायज्ञले सहयोग पुग्ने कार्कीले बताए । यसबाट सनातन हिन्दूधर्म र सत्यताको पाठकाबारेमा पनि सिकाइ हुने उनले बताए ।
कात्तिक २७ गतेसम्म सञ्चालन हुने रामलीलाबाट सङ्कलन भएको चन्दा सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिने उनले बताए । रामलीलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न राजबहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले जानकारी दिए । उनले भने, ‘रामलीलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू बनाएर तयारी गरिएको छ । रामलीलामा नाटक गर्ने कलाकारको तालिम पनि सञ्चालन भइरहेको छ ।’
महायज्ञले समाजमा असल संस्कृतिको विकास गर्ने र विकृत गतिविधिको अन्त्य गर्न सहयोग गर्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।
सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई रामलीला महायज्ञमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक संस्थाका सदस्य तथा श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नवीन कपाडीले अनुरोध गरेका छन् ।





