बैतडी –बैतडीको प्रसिद्ध शिवनाथ धाममा आजदेखि जात्रा शुरु भएको छ ।
यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा हुने गर्दछ । कार्तिक शुक्ल सप्तमीका दिन लाग्ने जात्रालाई रतेडी र कार्तिक शुक्ल अष्टमीका दिन लाग्ने जात्रालाई दिउसेडी भन्ने चलन रही आएको छ ।
आज साँझको समयमा शिवनाथ गाउँपालिकाका विभिन्न स्थानबाट देउरो आइसकेपछि राति शिवनाथ मन्दिरमा पूजा लाग्ने गर्दछ ।
शिवनाथ गाउँपालिका–६ बसेडीभ्वाँस्थित भण्डार घरबाट कार्तिक शुक्ल षष्ठीकै दिन मन्दिरमा भण्डार लग्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार एवं मणिलेक मावि मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीले बताए ।
बसेडीभ्वाँस्थित भण्डार घरबाट भण्डार र बिशेष प्रकारको घण्ट (पेलीघाँट) मन्दिर लैजाने चलन रही आएको कलौनीले बताए ।
शिवनाथको जात्रामा छालाको गीर खेल्ने प्रचलन रही आएको छ । यो नै जात्राको मुख्य आकर्षणको रुपमा रहेको कलौनीले बताए ।
शिवनाथ गाउँपालिकाको कफाडीस्थित उदयदेव मन्दिरमा दशैँको समयमा बलि गरिएको राँगाको छालाबाट उक्त गीर अर्थात भकुण्डो बनाउने र उक्त गीरलाई शिवनाथको जात्रामा खेल्ने चलन रही आएको कलौनीले बताए ।
उक्त गीरलाई आज बाजागाजासहित मन्दिरमा पुर्याउने र भोलि गीर खेल्ने चलन रही आएको छ । बिशेष गरेर धनाडी र साउँद थरका भक्तजनहरुले उक्त गीर खेल्ने चलन रही आएको छ ।
शिवनाथ मन्दिर सामुन्ने रहेको मैदानमा गीर खेल्ने गरिन्छ । पहिला उक्त ठाउँमा तलाउ रहेको र तलाउमै गीर खेल्ने चलन रही आएको भएपनि अहिले भने तलाउ सुकिसकेको कलौनीले बताए ।
शिवनाथ धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । जात्रा देउडा खेल्ने चलन समेत रही आएको छ ।
शिवनाथ धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
यसैबीच शिवनाथ धामको जात्राको अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन आज र भोलि स्थानीय सार्वजनिक बिदा दिएको छ । जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर दुई दिन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
सार्वजनिक बिदा दिनको गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने गाउँपालिकाले जनाएको छ ।





