Sagun Khabar
मास हिस्टेरिया विरुद्धको अभियान : सिर्जनात्मक कथा लेखन तालिम सम्पन्न 

बैतडी –बैतडीमा छोप्ने रोग अर्थात मास हिस्टेरियाविरुद्ध सञ्चालन भएको अभियान अन्तर्गत सिर्जनात्मक कथा लेखन तालिम सम्पन्न भएको छ । 

श्री कृष्ण मावि पाटनमा शनिबारदेखि सञ्चालन भएको चार दिने तालिम आज सम्पन्न भएको हो । तालिममा विद्यालयका ५० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । 

नेपाल मेड जर्मन संस्थाले स्थानीय सरकारसँगको समन्वयमा बियोण्ड स्टोरीजसँग मिलेर सिर्जनात्मक कथा लेखन तालिम सञ्चालन गरेको नेपाल मेड जर्मन संस्थाका प्रतिनिधि महेन्द्रप्रसाद जोशीले बताए । 

किशोरावस्थाका मानिसहरुले मनमा खुल्दुली भएका कुराहरु,सिर्जनाहरु बाहिर प्रस्फुटन गर्न नपाउँदा मास हिस्टेरिया हुने गरेको अध्ययनले देखाएको छ । यस्तो समस्याबाट बच्नका लागि किशोरकिशोरीहरुलाई सिर्जनात्मक कथा लेखन सीप दिइएको जोशीले बताए । 

चारदिनसम्म सञ्चालन भएको तालिममा परामर्शदाता आर्यन जोशी, बरिष्ठ बाल साहित्यकार विजयराज आचार्य र लेखक तथा अध्येता महेन्द्रप्रसाद जोशीले प्रशिक्षण दिएका थिए । 

किशोरकिशोरीहरुमा सिर्जनात्मक कथा लेखनको माध्यमबाट मास हिस्टेरियाबाट बचाउने आफूहरुको उद्देश्य रहेको जोशीले बताए । 

तालिममा सहभागी किशोरकिशोरीहरुले तालिम निकै उपलब्धिमूलक रहेका बताएका छन् । तालिमबाट आफूहरुले धेरै कुरा सिकेको सहभागी गोविन्दी भुलले बताइन् । 

नेपाल मेड जर्मन संस्थाले लामो समयदेखि सामाजिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको छ । बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा संस्थाले गत बर्ष स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

स्थानीय सरकारसँग मिलेर किशोरकिशोरीहरुमा देखिने मास हिस्टेरिया समस्या समाधानका लागि आफूहरुले अभियान सञ्चालन गरेको जोशीले बताए । बालबालिकाहरुले तालिमको समयमा लेखेका सिर्जनात्मक कथाहरु समेटेर पुस्तक प्रकाशन गर्ने योजना रहेको जोशीले बताए । 

तालिम समापन कार्यक्रममा बोल्दै पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले यस्ता खालका कार्यक्रमहरुले बालबालिकाहरुमा देखिने विभिन्न समस्या समाधानमा सहयोग पुग्ने बताए । सिर्जनात्मक कथा लेखनसम्बन्धी तालिमले बालबालिकाहरुको क्षमता अभिवृद्धि सहयोग पुर्याउने भन्दै उनले नेपाल मेड जर्मन संस्थालाई धन्यवाद समेत दिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update