Sagun Khabar
त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा शुरु 

बैतडी –बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा आजदेखि शुरु भएको छ । 

दशरथचन्द नगरपालिका–८ स्थित रणशैनी भगवतीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ । कार्तिक शुक्ल अष्टमीको दिनको जात्रालाई स्थानीयहरुले ‘नानी जात’ भन्ने गरेका छन् । 

त्रिपुरासुन्दरी भगवतीको भण्डार घरबाट आजै भण्डार ल्याएर मन्दिरमा पुर्याइएको थापाले बताए । भोलि बिहान कापडीगाउँमा भगवतीको सवारी गराइने परम्परा रही आएको छ । 

कार्तिक शुक्ल नवमीका दिन राँगा र बोकाको बलि पश्चात जात्रा समापन हुने गरेको स्थानीय आनन्दमणी भट्टले बताए । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा १४ औं शताब्दीदेखि पूजाआजा हुँदै आएको विश्वास गरिएको छ । यो जात्रामा भारतीय दर्शनार्थीहरुको समेत उल्लेख्य सहभागिता रहेको भट्टले बताए । उनले भने, ‘त्रिपुरासुन्दरी भगवतीको जात्रामा भारतीय दर्शनार्थीहरुको सहभागिता बढी रहन्छ । यसले सीमा क्षेत्रका नागरिकमा सदभावको समेत वृद्धि गरेको छ ।’

सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरुले त्रिपुरासुन्दरी भगवतीलाई कुलदेवीको रुपमा पूजाआजा गर्ने चलन रही आएको भारतीय पत्रकार प्रमोद भट्टले बताए । सामाजिक र सांस्कृतिक परम्पराले दुई देशका नागरिकको आत्मीय सम्बन्ध प्रगाढ बनाएको उनले बताए । 

नेपालका एक सय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको त्रिपुरासुन्दरी भगवतीको जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरासुन्दरी मन्दिर सेवा समितका अध्यक्ष थापाले बताए । 

यस्तै मन्दिरमा अहोरात्र बस्न आउने बाहिरका दर्शनार्थीहरुको सहजताका लागि ओढ्ने –ओछ्याउने कपडाको बन्दोबस्त समेत गरिएको थापाले बताए । 

त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update