बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले मंसिर २ गते बुधबारका दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
दशरथचन्द नगरपालिका–८स्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने जात्राको अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
रणशैनी भगवतीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो बर्षको जात्रा मंसिर १ र २ गते लाग्ने त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले बताए ।
त्रिपुरासुन्दरीमा लाग्ने जात्राको भव्य तयारी भइरहेको थापाले बताए । जात्रालाई व्यवस्थित बनाउन भक्तजनहरुलाई चिउरीको दुनामा पूजा सामग्री ल्याउन भनिएको छ ।
यस्तै मन्दिर आसपास क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ भने दर्शनार्थीहरुलाई सहज दर्शको व्यवस्थापन गरिएको थापाले बताए । त्रिपुरासुन्दरीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।




