एस.पी.भट्टको सामाजिक सेवामा निरन्तरता, त्रिपुरा जात्रामा निःशुल्क यातायात सेवा दिइने

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रामा भक्तजनहरुका लागि एक जना युवा समाजसेवीले निशुल्क गाडीको व्यवस्था गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–४ विनासौंका घर भएका युवा समाजसेवी एस.पी. भट्टले भक्तजनहरुका लागि निशुल्क गाडीको व्यवस्था गरेका हुन् । सतबाँझ, देहीमाण्डौं, गोठलापानी, जोशीबुङ्गा र झुलाघाटबाट त्रिपुरा मन्दिरंसम्मका लागि भोलि निशुल्क १० ओटा गाडी सञ्चालन गरिने भट्टले बताए । त्रिपुरासुन्दरीमा भोलि ठूली जात हुने भएकाले भक्तजनहरुको सहजताका लागि निशुल्क गाडीको व्यवस्था गरिएको उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता समेत रहेका भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले दर्शनार्थीहरुका लागि उक्त व्यवस्था गरेको जनाएका छन् । निशुल्क गाडीको व्यवस्था भएपछि दर्शनार्थीहरुलाई समेत सहज हुने भएको छ । 

यसअघि पनि उनले निङ्गलाशैनी भगवती मन्दिर र त्रिपुराकै जात्रामा भक्तजनहरुका लागि निशुल्क बसको व्यवस्था गरेका थिए ।

भट्टले गर्दै आएको सामाजिक कार्यले उनको प्रशंसा समेत बढ्दै गएको छ । यसअघि उनले बैतडीका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री र खेलकुद सामग्री पनि वितरण गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update