Sagun Khabar
सामुदायिक वनमा देखिएको विवाद समाधान गर्दै प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र 

बैतडी–बैतडीका सामुदायिक वनमा देखिएका विवाद समाधान गर्न थालिएको छ । 

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालले जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक वनहरुमा देखिएका विवादहरु समाधानका लागि पहल गरिरहेको हो । 

जिल्लाका चारओटा पालिकामा अहिले कार्यक्रम सञ्चालनमा रहेका र ती पालिकामा देखिएका विवाद समाधानमा प्रयास भइरहेको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालका श्रोत व्यक्ति भुवन शर्माले जानकारी दिए । 

डिभिजन वन कार्यालयबाट सिफारिश भएका चारओटा सामुदायिक वनका विवादमध्ये एउटा सामुदायिक वनको विवाद समाधान भइसकेको उनले बताए । बाँकी तीनओटा सामुदायिक वनमा देखिएका विवाद समाधानका लागि छलफल जारी रहेको उनले बताए । 

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालले माकुरा प्रविधिबाट प्राकृतिक श्रोतको उपभोग लगायतका क्षेत्रमा देखिएका विवाद समाधान गर्दै आएको छ । मेलमिलापका माध्यमबाट विवाद समाधान गर्ने गरिएको शर्माले बताए । 

मंगलबार पाटनमा आयोजना गरिएको जिल्लास्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठकमा शर्माले अहिले चार पालिकामामात्रै काम गरिरहेको र संस्थाले अन्य पालिकाहरुमा समेत कार्यक्रम विस्तार गर्ने तयारी गरिरहेको बताए । 

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले प्राकृतिक श्रोतहरुको उपभोगमा देखिएको सीमा विवाद लगायतका समस्याहरु मेलमिलापका माध्यमबाट समाधान गर्दै आएको छ । 

बैठकमा सहभागी पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रले मेलमिलापका माध्यमबाट समाजमा शान्ति स्थापनाको पहल गरिरहेको बताए । 

डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले वन क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानमा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । 

यस्तै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले जिल्लाका विभिन्न क्षेत्रमा प्राकृतिक श्रोतको उपयोगमा विवाद देखिएकाले ती विवाद समाधानमा केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update