बैतडी –बैतडीमा घरपालुवा पशुपन्छीहरुका लागि पूर्ण खोप अभियान सञ्चालन हुने भएको छ ।
जिल्लाका दशओटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन हुने भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए ।
पशुधनको सुरक्षाका लागि पूर्ण खोप अभियान सञ्चालन गर्ने तयारी भएको उनले बताए । पूर्ण खोप अभियानका लागि जिल्लाभरी २५ जना प्राविधिकहरु खटाइने भएको छ ।
पूर्ण खोप अभियानमा परिचालन हुने प्राविधिकहरुका लागि अभिमुखीकरण तालिम सञ्चालन गरिएको र यसै महिनाबाट खोप अभियान सञ्चालन हुने पन्तले बताए ।
अभियान अन्तर्गत गाईभैंसीलाई खोरेत विरुद्धको एफएमडी खोप र लम्पीस्कीनविरुद्धको एलएसडी खोप दिइने छ । यस्तै बाख्राहरुलाई पीपीआर विरुद्धको खोप दिइनेछ भने कुखुरालाई रानीखेतविरुद्धको खोप दिइनेछ ।
जिल्लाभरी १ लाख बाख्रा, ३० हजार गाईभैसी र ६० हजार कुखुरामा खोप लगाउने लक्ष्य रहेको छ ।
आगामी फागुन महिनासम्म सञ्चालन हुने अभियानमा सहयोग गर्न भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सबैलाई आग्रह समेत गरेको छ ।
विभिन्न रोगहरुविरुद्ध खोप दिइने भएकाले खोप अभियानले पशुधनको सुरक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ । व्यवसायिक पशुपालनमा लागेका किसानहरुले बेला–बेलामा विभिन्न रोगका कारण क्षति व्यहोर्नुपरेकाले त्यस्तो नहोस भनेर खोप अभियान सञ्चालन गर्न लागिएको पन्तले बताए ।




