बैतडी –मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली कांग्रेस बैतडीले सहयोग गर्ने भएको छ ।
कांग्रेस बैतडीले १० ओटै पालिका समिति र ८४ ओटै वडा कार्यसमितिहरुलाई पत्राचार गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नागरिकलाई नाम दर्ताका लागि सहजीकरण गर्न आग्रह गरेको छ ।
उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यमा सहजीकरण गर्न पालिका समिति र वडा समितिलाई आग्रह गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यमा सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पालिका समिति र वडा समितिलाई पत्राचार गरिएको सचिव चन्दले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकेको छ ।





