Sagun Khabar
एमालेले जितेका पालिकामा घेराबन्दी गर्न खोजिदैँछ : पूर्व मन्त्री भण्डारी 

बैतडी–नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दामोदर भण्डारीले बैतडीमा एमालले जितेका पालिकाहरुमा समस्या खडा गर्न खोजिएको आरोप लगाएका छन् । 

एमालेले बैतडी सदरमुकाममा आयोजना गरेको जागरण सभामा बोल्दै सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका लगायत एमालेले जितेका पालिकाहरुमा घेराबन्दी गर्न खोजिएको उनले बताए । सुर्नयामा गरिएको तालाबन्दीले एमालेको शक्तिलाई नरोक्ने उनले बताए । उनले भने, ‘एमालेले जितेका पालिकाहरु सुर्नया, दशरथचन्दमा समस्या खडा गर्न खोजिएको छ । हामीले हेरिरहेका छौं । एमाले जागृत भइसकेको छ ।एमालेको यत्रो शक्तिलाई तालाबन्दीले रोक्न सक्दैन् ।’

एमालेको नेतृत्व केपी ओलीले गर्ने बताउँदै उनले ओलीलाई एमालेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउने उद्दघोष गरे । बैतडी जिल्लाबाट एकमत भएर पार्टी ओलीको पक्षमा रहेको उनले दोहर्याए । 

भदौ २३ र २४ मा भएको घटनाका बिषयमा पूर्व मन्त्री भण्डारीले देशलाई कसले, कसरी सत्यनाश गर्यो भन्ने कुरा जगजाहेर रहेको बताए । जेनजी आवरणमा देशलाई बर्बाद पार्ने तत्व हाबी भएको उनले बताए । 

जनताको मनमनमा एमाले रहेको बताउँदै भण्डारीले एमाले राष्ट्रवादी शक्ति भएको बताए । 

पूर्व मन्त्री भण्डारीले संसद पुनस्र्थापना गरेर संविधान संशोधन गरेर सर्वपक्षीय सरकारले निर्वाचन गर्नुपर्ने बताए । अहिलेको सरकारले निर्वाचनको वातावरण नै बनाउन नसकेको उनले दाबी गरे । एमाले कुनै पनि निर्वाचनबाट पछि नहट्ने बताउँदै उनले निर्वाचनको वातावरण बन्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update