बैतडी –नेकपा एमालेले आज बैतडीमा र्यालीसहित जनसभा सम्पन्न गरेको छ । नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा बैतडी सदरमुकाम गोठलापानीमा जनसभा सम्पन्न गरेको हो ।
विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमालेले सदरमुकाममा जनसभाको आयोजना गरेको हो । संविधान र लोकतन्त्रको रक्षाका लागि जनसभाको आयोजना गरिएको एमाले बैतडीले जनाएको छ ।
बैतडी सदरमुकाममा केन्द्रीय सदस्यहरु समेतको सहभागितामा र्यालीसहित जनसभाको आयोजना गरिएको हो ।
जनसभामा केन्द्रीय सदस्यद्वय दामोदर भण्डारी र लिलाधर भट्ट, सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, जिल्ला कमिटि अध्यक्ष नरेश विकसहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो ।
जनसभामा बोल्दै नेताहरूले जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारलाई विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाएका छन् । जेनजी आन्दोलनका नाममा रास्वपाका नेता–कार्यकर्ताहरुले देशभर तोडफोड र आगजनी गरेको भन्दै नेताहरूले आन्दोलनप्रति तिखो टिप्पणी गरेका छन् ।
वर्तमान सरकार गठन प्रक्रिया नै संविधान विपरीत भएको भन्दै संसद पुनस्र्थापना गरेर सर्वपक्षीय सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
जनसभामा जिल्लाका १० ओटै पालिका तथा ८४ ओटै वडाबाट एमालेका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




