बैतडी - बैतडीको मेलौली नगरपालिका ७स्थित ब्राइट फ्युचर एकेडेमीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
एकेडेमीका व्यवस्थापन समितिकी अध्यक्ष सरस्वती कुवँरको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तस्वदेही, मेलौलीका इञ्चार्ज नरबहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय र समुदायबीच आपसी समन्वय तथा सुरक्षाबारे महत्वपूर्ण छलफल गरिएको व्यवस्थापन समितिकी अध्यक्ष कुवँरले बताइन् ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय कलाकार मनोहर परियार तथा हिस्टुन केन्द्रीय समिति सचिव अर्जुनसिंह कुवँर रहे। अभिभावक, स्थानीय बुद्धिजीवी, समुदाय प्रतिनिधि तथा विद्यालयका विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सांगीतिक प्रस्तुति संगै लागू पदार्थ दुव्र्यसन सम्बन्धी सचेतनामूलक प्रशिक्षणसमेत सञ्चालन गरिएको स्रोतमा उल्लेख गरिएको छ ।
प्रहरी–समुदाय साझेदारीलाई बलियो बनाउँदै हिंसा, असामाजिक गतिविधि तथा युवामा बढ्दै गएको लागू पदार्थको प्रयोग नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रमले महत्वपूर्ण प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। साथै, विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै विद्यार्थीलाई सुरक्षित र अनुशासित समाज निर्माणमा सक्षम बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।




