Sagun Khabar
बैतडीमा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने

बैतडी - बैतडीमा जिल्लाभरका विद्यालय सहभागी हुने गरी स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन हुने भएको छ । यहि पौष मसान्तसम्म स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरि सक्न जिल्ला खेलकुद विकास समितिले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्क राज जोशीले बताए ।

आगामी माघ महिनाभित्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएकाले पौष मसान्तसम्म स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न भनिएको छ। जिल्ला खेलकुद विकास समितिको वार्षिक कार्ययोजना अनुसार आयोजित यस प्रतियोगितालाई सफल पार्न आवश्यक तयारी तथा समन्वय समेत गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

प्रत्येक स्थानीय तहबाट विद्यालयस्तरका विभिन्न खेल प्रतियोगितामार्फत छनोट भएका खेलाडीहरूलाई जिल्ला स्तरीय प्रतिस्पर्धामा सहभागी गराइने बताइएको छ । विद्यालयहरूबाट अन्तरपालिकागत, अन्तरस्थानीय तथा जिल्लास्तरका छनोटका आधारमा उत्कृष्ट खेलाडीलाई जिलास्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गराइने स्रोतमा उल्लेख गरिएको छ।

जिल्लाका सबै स्थानीय तहले आफ्नो स्थानीय तह अन्तर्गतका विद्यार्थी अनिवार्य रूपमा सहभागी हुने गरि व्यवस्थापन गर्न र विद्यालयलाई समयमै टिम गठन, खेलाडी छनोट तथा आवश्यक कागजात तयार गर्न अनुरोध गरिएको छ। खेल समन्वय तथा व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह, विद्यालय प्रशासन र जिल्ला खेलकुद विकास समितिबीच निरन्तर समन्वय हुने बताइएको छ। प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, मार्शल आर्टसहित विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख जोशीले बताए ।

प्रतियोगिता सम्पन्न भएपछि विद्यालयहरूले खेलाडीहरूको नामावली, विवरण, तथा फोटोसहितको प्रतिवेदन निर्धारित ढाँचामा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पेश गर्नु पर्नेछ। प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरू आगामी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन्।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update