बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान वडा नं १ हटैराजबाट शुरुवात गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर अभियानको औपचारिक रुपमा शुरुवात गरिएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
सुर्नया गाउँपालिका वडा नं १ मा अभियान अन्तर्गत र्याली निकाल्नुका साथै वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको उनले बताइन् । उच्चाकोट मावि गुर्केलीका विद्यार्थीहरुको सहभागितामा अभियान अन्तर्गत लैङ्गिक हिंसा अन्त्यका बिषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष बोहराले बताइन् ।
प्रत्येक वडामा मावि तहका विद्यार्थीहरुको सहभागितामा अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
आठ ओटै वडामा कार्यक्रम सम्पन्न भएपछि मंसिर २४ गते पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने उपाध्यक्ष बोहराले बताइन् । अभियानको अन्तिम दिन सचेतनामूलक अन्तरक्रिया, सडक नाटक र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने उनले बताइन् ।
‘प्रविधिको सही प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं’भन्ने नारासहित अभियानको शुरुवात गरिएको बताइएको छ ।




