बैतडी –सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले स्थानीय नागरिकसँगको सम्बन्ध विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको छ । सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत स्थानीय नागरिकसँगको सम्बन्ध विस्तार गर्ने काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताए ।
सीमा क्षेत्रका नागरिकसँगको सम्बन्धले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, तस्करी नियन्त्रण र सीमा क्षेत्रको सुरक्षामा सहयोग पुग्ने गुल्मपति कुँवरले बताए ।
भारतसँग सीमा जोडिएको बैतडीमा सशस्त्र प्रहरीका तीनओटा बिओपी सञ्चालनमा रहेका छन् । झुलाघाट, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा सशस्त्र प्रहरीका बिओपी सञ्चालनमा रहेका कुँवरले बताए ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा नं १ स्थित भूमीराज आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
यस्तै शिवनाथ गाउँपालिका वडा नं १ का २९ जना विपन्न, एक महिला र जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले बताए । उनले भने, ‘हामीले सीमा क्षेत्रका बासिन्दाहरुसँगको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं । यसले सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीलाई आफ्नो काम गर्न सहज भएको छ ।’
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत झुलाघाटमा सार्वजनिक शौचालय निर्माणको काम समेत भइरहेको छ ।
यस्तै यही मंसिर १९ र २० गते शिवनाथ गाउँपालिकाको शर्मालीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले बताए । विभिन्न सरकारी निकायहरुसँगको समन्वयमा सशस्त्र प्रहरीले उक्त शिविर सञ्चालन गर्ने उनले बताए ।
सीमा क्षेत्रका नागरिकसँगको सम्बन्ध बढाउन सशस्त्र प्रहरीले गरिरहेको काम निकै सराहनीय रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । सीमा क्षेत्रमा रहेका बिओपीले स्थानीय नागरिकलाई फाइदा पुगेको उनले बताए ।




