बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाभित्र चारओटा स्वास्थ्यचौकीका नयाँ भवन निर्माण भएका छन् ।
नयाँ निर्माण भएका भवनहरुको केही दिन पहिला उद्दघाटन गर्दै सेवा सुचारु गरिएको छ । भवनको अभाव भएका चारओटा स्वास्थ्यचौकीका भवन निर्माण गरेर नयाँ भवनबाटै सेवा सुचारु गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले जानकारी दिए ।
दशरथचन्द नगरपालिका–२ स्थित देहीमाण्डौं स्वास्थ्यचौकी, दशरथचन्द नगरपालिका–३ स्थित दुर्गाभवानी स्वास्थ्यचौकी, दशरथचन्द नगरपालिका–९ स्थित जोशीबुङ्गा स्वास्थ्यचौकी र दशरथचन्द नगरपालिका–१० स्थित बाराकोट स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको हो ।
देहीमाण्डौं स्वास्थ्यचौकी र जोशीबुङ्गा स्वास्थ्यचौकी भवन निर्माणका लागि आर्थिक बर्ष २०८०÷८१ मा ठेक्का सम्झौता भएको थियो भने दुर्गाभवानी र बाराकोट स्वास्थ्यचौकी भवन निर्माणका लागि आर्थिक बर्ष २०८१÷८२ मा ठेक्का सम्झौता भएको थियो ।
दशरथचन्द नगरपालिकाले स्वास्थ्यचौकीको भवन अभाव भएका ठाउँमा भवन निर्माण गरेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । ती भवन निर्माणमा प्रति भवन ४० लाख बढी लागत रहेको छ ।
स्वास्थ्यचौकी भवनको अभावमा सेवा प्रदानमा असहजता भइरहेका बेला नयाँ भवनबाट सेवा सुचारु भएपछि सहज भएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
यस्तै दशरथचन्द नगरपालिका–११ स्थित नागार्जुन स्वास्थ्यचौकीको भवन निर्माण कार्य जारी रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
नयाँ भवन निर्माण भएपछि सेवा प्रदानमा सहजता भएको स्वास्थ्यचौकीहरुले जनाएका छन् ।




