Sagun Khabar
बैतडीमा ट्रमा सेन्टरका संरचना प्रयोग विहिन, ट्रमा सेन्टर अझै सञ्चालनमा आएन

बैतडी – बैतडीको खोड्पेमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन् । ट्रमा सेन्टर सञ्चालनमा नआउँदा पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् । 

जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । सडक दुर्घटनाका घाइते तथा अन्य विपदमा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो । 

भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको उनले बताए । ट्रमा सेन्टर सञ्चालनका लागि निरन्तर रुपमा प्रदेश र संघीय सरकारलाई आग्रह गरिरहेको उनको भनाइ छ । 

स्थानीय तहको १० लाख र सङ्घीय सरकारको ५० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ संयुक्त लगानीमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको हो । २०७९ सालमा भवन निर्माण भएको थियो । 

‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा ‘बेडसिट’ ट्रमा सेन्टरमा छन् । एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ । एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सके ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update