बैतडी–बैतडीमा दुईओटा एआरटी सेन्टरमार्फत एचआइभी संक्रमितहरुलाई औषधी वितरण हुँदै आएको छ ।
संक्रमितहरुले खानुपर्ने एआरटी औषधी निशुल्क रुपमा वितरण गर्ने गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.सुशील विकले बताए ।
जिल्ला अस्पताल बैतडी र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीबाट संक्रमितहरुलाई एआरटी औषधी वितरण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत खगेन्द्र कार्कीले बताए ।
बैतडीमा ७४ जना महिला र ६२ जना पुरुष गरेर १ सय ३६ जना संक्रमितहरुले एआरटी औषधी सेवन गरिरहेका कार्कीले बताए ।
संक्रमितहरुलाई निशुल्क औषधी प्राप्त हुने भएपनि अन्य समस्याले झेलीरहेको बैतडी प्लसका कार्यक्रम संयोजक जगदीश बिष्टले बताए । एचआइभीको क्षेत्रमा काम गर्ने संघसंस्था कम भएकाले स्थानीय सरकारहरुले संक्रमितहरुका लागि जिविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
संक्रमितहरुलाई अझै पनि भेदभाव र लाञ्छनायुक्त व्यवहार गर्ने परिपाटी कायमै रहेकाले यसमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए ।




