बैतडी –बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण गर्न थालेको छ ।
शुक्रबार महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर वडा नं ८, ९ र १० का २३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इण्डक्सन चुलो वितरण गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
नगरपालिकाभरीका १ सय ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इण्डक्सन चुलो वितरण गर्ने योजना अनुसार २३ जनालाई चुलो वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । बाँकी वडाका ८६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई केही दिनभित्रै चुलो वितरण गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्यबोझ घटाउने, वन तथा वातारण संरक्षण गर्ने,महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इन्डक्सन चुलो वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
शुक्रबार सिद्धेश्वर स्वास्थ्यचौकीमा आयोजना गरिएको चुलो वितरण तथा सम्मान कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाट, वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।
उत्कृष्ट स्वास्थ्य सेविकालाई सम्मान
पाटन नगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । प्रत्येक वडाबाट एक÷एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई छनौट गरेर सम्मान गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
वडा नं ८, ९ र १० का तीन जनालाई शुक्रबार सम्मान गरिएको छ भने बाँकी रहेका सात जनालाई यो महिनाभित्रै सम्मान गरिने उनले बताए । प्रशंसापत्रसहित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्ने गरिएको छ ।
वडा नं १ बाट जानकी बोहरा, वडा नं २ बाट हरिता ऐर, वडा नं ३ बाट निर्मला बिष्ट, वडा नं ४ बाट जानकी महरा, वडा नं ५ बाट वसन्ती ठगुन्ना, वडा नं ६ बाट लक्ष्मी जोशी, वडा नं ७ बाट सेतु चन्द, वडा नं ८ बाट बिमला बोहरा, वडा नं ९ बाट गोदावरी भाट र वडा नं १० बाट दुर्गा भट्ट उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा छनौट भएका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।




