बैतडी –सारथी नेपालले परियोजना सञ्चालन गरेका क्षेत्रमा सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकामा सामाजिक लेखा परीक्षण सम्पन्न गरिएको सारथी नेपालका कार्यक्रम संयोजक भूपाल बोहराले बताए ।
संस्थाले वुमेन्स बैंक र एफसीए नेपालको सहयोगमा सञ्चालन गरिरहेको ‘दिगो आम्दानीमार्फत महिला उद्यमीहरुको सशक्तीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएका कार्यक्रमहरुको सामाजिक लेखा परीक्षण सम्पन्न गरेको हो ।
परियोजनामार्फत सञ्चालित कार्यक्रमहरुले स्थानीयस्तरका नागरिकको जीवनमा ल्याएको परिवर्तन, परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापहरुको बारेमा नागरिकको बुझाइ र आगामी दिनमा कार्यक्रमलाई प्रभावकारी बनाउन अपनाउन सकिने उपायका बारेमा जानकारी लिन सामाजिक लेखा परीक्षण सम्पन्न गरिएको कार्यक्रम संयोजक बोहराले बताए ।
सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकाका तीन÷तीन वडामा परियोजना सञ्चालनमा रहेको सारथी नेपालका कार्यकारी निर्देशक कृष्ण ठगुन्नाले बताए । महिलाहरुलाई उद्यममा सहभागी गराएर उनीहरुको सशक्तीकरण गर्ने उद्देश्यले परियोजना सञ्चालनमा रहेको उनले बताए ।
परियोजना अन्तर्गत एक बर्षमा तीनओटै पालिकामा ७७ लाख ३३ हजार २ सय ८५ रुपैयाँ रुपैयाँ खर्च भएको जनाइएको छ । परियोजना अन्तर्गत महिला उद्यमीहरुको क्षमता अभिवृद्धि, बीउबिजन सहयोग, प्रविधि हस्तान्तरण, कृषि पाठशाला, सीपमूलक तालिम लगायतका क्षेत्रमा खर्च गरिएको कार्यक्रम संयोजक बोहराले बताए ।
सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागी भएकाहरुले परियोजनामार्फत सञ्चालित कार्यक्रमले आफूहरुको जीवनमा महत्वपूर्ण परिवर्तन आएको बताएका छन् ।
सरोकारवाला निकायहरुसंग आफ्ना मागहरु राख्न सक्ने क्षमताको विकास हुनुका साथै आधुनिक कृषि प्रविधिका बिषयमा परियोजनामार्फत सिकाइ भएको सुर्नया–६ शान्ति चन्दले बताइन् । उनले भनिन् ‘यो परियोजनामार्फत धेरै सिकाइ भएको छ । हामीमा आत्मविश्वास बढेको छ । यताउता आँफै जान सक्ने भएका छौं । आधुनिक कृषि प्रविधिको जानकारी पाएका छौं ।’
परियोजनाले सञ्चालन गरेका क्रियाकलापबाट धेरै कुराको सिकाइ भएको र स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थबाट विभिन्न सामग्री बनाउने तालिम दिनुपर्ने स्थानीय सहभागी सत्य चन्दले बताइन् । उनले मकैको खोस्टा र निङालोका सामग्री बनाउने तालिम दिनुपर्नेमा जोड दिइन् ।
यस्तै सिगास गाउँपालिका–१ की रमिता धामीले परियोजनामार्फत धेरै कुराको सिकाइ भएको बताइन् । प्रत्येक बर्ष संस्थाले सामाजिक लेखा परीक्षणमार्फत परियोजनाका सबै बिषयमा जानकारी दिने गरेकाले यो निकै महत्वपूर्ण काम भएको बताइन् ।
सुर्नया गाउँपालिका –६ मा सञ्चालन गरिएको सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागी वडा अध्यक्ष मदनराज अवस्थीले सारथी नेपालले स्थानीय सरकारको साझेदारको रुपमा रहेर काम गरेको र यसले स्थानीय नागरिकको जिविकोपार्जनमा सहयोग पुगेको बताए । उनले भने ‘स्थानीय सरकारको लक्ष्य र उद्देश्य परिपूर्ती गर्न सारथी नेपालले सहयोग गरेको छ । यो परियोजनामार्फत स्थानीय नागरिकलाई धेरै फाइदा भएको छ ।अबका दिन पनि यो कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।’
यस्तै सिगास गाउँपालिका वडा नं २ का वडा सदस्य भानसिंह धामीले परियोजना महिला सशक्तीकरणको क्षेत्रमा ठूलो सहयोग गरेको बताए ।





