Sagun Khabar
शिवनाथको शर्मालीमा बिशेषज्ञ स्वास्थ्य शिविर : ३ सय ३१ जनाले सेवा लिए 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका वडा नं २ को शर्मालीमा शनिबार बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिवनाथ गाउँपालिका र जिल्ला अस्पताल बैतडीको संयुक्त आयोजना र जिल्लास्थित सुरक्षा निकायहरुको सहआयोजनामा नागार्जुन मावि शर्मालीमा बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

उक्त शिविरमा ३ सय ३१ जनाले सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । गाउँपालिकाबासीलाई उनीहरुकै ठाउँमा बिशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको उनले बताए । 

शिविरमा १ सय २० जनाको भिडियो एक्सरे गरिएको छ । जसमा ४५ जना गर्भवती महिलाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज न्यौपानेले बताए । 

यस्तै शिविरमा २२ जनाको रगत जाँच गरिएको छ भने ३२ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । क्यान्सर परीक्षण गरिएकामध्ये एकजनालाई थप उपचारका लागि अन्यत्र सिफारिश गरिएको छ । 

शिविरमा पाठेघर खसेका महिलाहरुको उपचारका साथै चारजनालाई रिङ पेशरी राखिएको न्यौपानेले बताए । यस्तै २० जनाले शिविरमा दाँतसम्बन्धी सेवा लिएका छन् । 

बिशेषज्ञ सेवा लिनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि स्थानीयस्तरमै शिविरमार्फत बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने, ‘हामीले सकेसम्म गाउँपालिकाबासीलाई सहज होस् भनेर काम गरिरहेका छौं । समय–समयमा यस्ता शिविरहरु सञ्चालन गर्दै आएका छौं । यसले गाउँपालिकाबासीहरुलाई सहयोग पुगेको छ ।’

सीमा क्षेत्रका बासिन्दाहरुसँगको सम्बन्ध विस्तार गर्ने योजना अनुसार आफूहरुको पनि शिविर सञ्चालनमा सहकार्य रहेको सशस्त्र प्रहरी बल नेपाल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । ‘सीमाबासीहरुसँग सशस्त्र प्रहरी कार्यक्रम’ सञ्चालनमा रहेकाले सोही कार्यक्रम अन्तर्गत शिविरमा सहकार्य गरिएको उनले बताए । 

गाउँघरमै सञ्चालन भएको शिविरले स्थानीयस्तरमा सेवा पाउँदा खुसी लागेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।  

शिविरमा आएका सबै बिरामीहरुलाई निशुल्क औषधी वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update