बैतडी–बैतडीको सुर्नया गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय मावि सिउडे,ग्वानीको ६४ औं बार्षिकोत्सव आज विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर बिष्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । यस्तै गाउँपालिका प्रवक्ता प्रताप महरा समारोहमा विशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक धीरबहादुर बिष्टले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रतिवेदन पेश गरेका थिए । प्रधानाध्यापक बिष्टले पेश गरेको प्रतिवेदन अनुसार उक्त विद्यालयको आयव्यय ५४ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका लेखापाल रामदत्त भट्टले बताए ।
कक्षा १२ सम्मको पढाइ हुने नेपाल राष्ट्रिय मावि ग्वानीमा अहिले ३ सय विद्यार्थी अध्ययनरत रहेका विद्यालयका शिक्षक खेमराज भट्टले बताए ।
बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सुर्नया गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । आधारभूत तह कक्षा ८को परीक्षामा गत बर्षदेखि सुधार आएको भन्दै उनले आगामी दिनमा शिक्षा क्षेत्र सुधारका योजना ल्याउने दाबी गरे ।




