Sagun Khabar
बाजुराको बुढीगंगाका ७ जना कर्मचारी निलम्बनमा परेपछि सेवा प्रभावित

बाजुरा –बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार प्रकरणका कारण सात जना कर्मचारी निलम्बनमा परेपछि नगरपालिकाको सेवा प्रभावित भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कानुनी व्यवस्था अनुसार आरोपित कर्मचारीहरू स्वतः निलम्बनमा परेका हुन् । 

निलम्बित कर्मचारीमा तत्कालीन अधिकृत छैटौँ नरेन्द्र नाथ, सव–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सव–इन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक बसन्तबहादुर थापा रहेका छन् । 

कर्मचारी निलम्बनमा परेपछि शिक्षा, प्रशासन र प्राविधिक शाखाका काम प्रभावित भएका नगर प्रमुख रामबहादुर बानियाँले बताए । हालैको सरुवा र नियुक्ति प्रक्रिया अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत भेटनरी शाखा प्रमुख प्रेम जैशी भए पनि आर्थिक अधिकारको जिम्मेवारी उनीसहित हाजिर नभएका अन्य अधिकारीहरूसँग छैन् ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन मेयर दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनसहित १४ जनाविरुद्ध तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो असुल र कैद सजाय माग गरिएको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम विशेष अदालत, काठमाडौंमा प्रतिवादी बनाइ मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update