Sagun Khabar
एचपीभी खोप कार्यक्रम : बैतडीका कुन पालिकामा कहिले ? 
फाइल फोटो

बैतडी–बैतडीमा यही माघ २७ गतेदेखि एचपीभी खोप कार्यक्रम सञ्चालन हुने भएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने उक्त खोपलाई यो बर्षदेखि नियमित खोपमा समावेश गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

बैतडीमा यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । यो बर्ष बैतडीमा २४ सय ५३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिने लक्ष्य रहेको बताइएको छ । गत बर्ष अभियानको रुपमा किशोरीहरुलाई खोप दिइएको थियो । 

यो बर्ष कक्षामा ६ मा अध्ययनरत किशोरी, गत बर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० बर्षका किशोरीहरुलाई खोप दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

गत बर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो ।

बैतडीको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा माघ २७ गतेदेखि २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा माघ २७ देखि फागुन १ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकामा माघ २७ देखि फागुन २ गतेसम्म खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

दोगडाकेदार गाउँपालिकामा गत बर्ष छुटेका पाँच जनासहित १९४ जना, मेलौली नगरपालिकामा गत बर्ष छुटेका दुई जनासहित २२२ जना, पाटन नगरपालिकामा गत बर्ष छुटेका ५ जनासहित २९९ जना, सिगास गाउँपालिकामा गत बर्ष छुटेका पाँच जना र विद्यालय बाहिर रहेका तीन जनासहित २९१ जना र पञ्चेश्वर गाउँपालिकामा १०८ जना किशोरीलाई खोप दिइने बताइएको छ । 

यस्तै सुर्नया गाउँपालिका गत बर्ष छुटेका दुई जनासहित १८० जना, शिवनाथ गाउँपालिकामा विद्यालय बाहिर रहेका तीन जनासहित २११ जना, पुर्चौंडी नगरपालिकामा गत बर्ष छुटेका ३२ जनासहित ४७७ जना, दशरथचन्द नगरपालिकामा गत बर्ष छुटेका दुई जनासहित २४६ जना र डिलाशैनी गाउँपालिकामा गत बर्ष खोप लगाउन छुटेका दुई जनासहित २२५ जना किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा खोप लगाउनुपर्ने जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा.पविन उपाध्यायले बताए । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्षेनी महिलाहरुले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप लगाउनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update