Sagun Khabar
आज देशभर महाशिवरात्रि पर्व मनाइँदै

काठमाण्डौं –आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पर्वलाई विशेष धार्मिक महत्वका साथ मनाउने गरिन्छ ।

आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी प्रारम्भ हुने बताइएको छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म रहनेछ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि मनाउने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको हो । समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवरूप धारण गरेको शास्त्रीय मान्यता छ । यस दिन पूजा, आराधना र दर्शन गरेमा यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पूजाआराधनामा जुटेका छन् । शिवजी उत्पत्ति भएको रातका आधारमा नामकरण गरिएको यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिमध्ये एक पवित्र रात्रिका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

महाशिवरात्रिलाई व्रतमध्ये सर्वोत्तम मानिन्छ । भक्तजनले उपवास बसी रातभर जाग्राम गर्ने, दूध, धतुरो र बेलपत्र अर्पण गर्ने प्रचलन छ । यस दिन उपवास गरी जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । भगवान् महादेवलाई जाडो हुने जनविश्वासका कारण विभिन्न स्थानमा धुनी बालेर भजनकीर्तन गर्ने परम्परा पनि रहेको छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने यस दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधनाको कार्यक्रम आयोजना गरिएको छ । रातका चार प्रहरमा विशेष पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाखौँ बेलपत्र अर्पण गरिन्छ । देशका विभिन्न भाग तथा छिमेकी भारतबाट समेत तीर्थयात्रीहरू पशुपतिनाथमा दर्शनका लागि आएका छन् । 

पर्वका अवसरमा पशुपति क्षेत्रमा विशेष व्यवस्थापन गरिएको छ । बिहान २ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीको सहजताका लागि तीन बाहिरी लाइन र भित्री लाइनको व्यवस्थापन गरिएको छ भने सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, वनकालीलगायत स्थान तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update