कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा स्व. राजा महेन्द्र वीरविक्रम शाहदेवको सालिक पुनर्स्थापना गरिएको छ । महाशिवरात्रिको अवसरमा आज शालिक पुनर्स्थापना गरिएको हो ।
स्थानीय समुदायको सहभागितामा र उनीहरुकै मागमा शालिक पुनस्र्थापना कार्य सम्पन्न गरिएको बताइएको छ ।
शालिक पुनर्स्थापना कार्यक्रममा स्थानीय नागरिक, समाजसेवी,बुद्धिजीवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । शालिक पुनर्स्थापनालाई ऐतिहासिक स्मृति र सांस्कृतिक पहिचान संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
महेन्द्रनगरको नाम र पहिचान राजा महेन्द्रसँग प्रत्यक्ष रूपमा जोडिएकाले स्मारकमा उनको शालिक पुनर्स्थापना हुनु राम्रो पक्ष भएको स्थानीयहरुले बताएका छन् । यसअघि शालिक नहुँदा शहरको ऐतिहासिक निरन्तरतामा खालीपन महसुस हुँदै आएको उनीहरूको भनाइ छ ।
स्थानीय समुदायको सामूहिक प्रयास, आर्थिक सहयोग र व्यवस्थापनबाट शालिक पुनर्स्थापना सम्पन्न भएको हो ।




