बैतडी –देउडा गायक तथा कलाकार जयराज भट्ट (जेआर)को उपचारमा आर्थिक अभाव भएको छ । हिजो मञ्चमा उभिएर हजारौँ दर्शकलाई नचाउने र सुदूरपश्चिमको संस्कृति जोगाउने सर्जक आज जीवन रक्षाका लागि छटपटिँदै ओछ्यानबाट उपचारका लागि याचना गरिरहेका छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका –६, बिजुल घर भएका गायक भट्ट ८ महिनाअघि सुदूरपश्चिमबाट काठमाडौं जाने क्रममा चितवनमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । दुर्घटनापछि सक्रिय साङ्गीतिक जीवन बन्द कोठामा कैद भएको पीडा सुनाउँदै उनले हिँडडुल गर्न नसक्ने गरी थला परेको बताए ।
सुदूरपश्चिमको माटो, संस्कृति र मौलिकतालाई आफ्नो स्वरमार्फत देश–विदेशमा गुञ्जाउने चर्चित लोक तथा देउडा गायक भट्टको उपचारका लागि राज्यका निकायबाट पहल हुन सकेको छैन ।
दुर्घटनामा परेको गम्भीर चोटका कारण भट्टको शरीरको तल्लो भागले राम्रोसँग काम गरेको छैन् । आफैँ उठ्न, बस्न वा हिँडडुल गर्न सकिने अवस्था नरहेको उनले बताए । लामो समयसम्म ओछ्यानमै पर्दा पारिवारिक आर्थिक अवस्था पूर्णरूपमा थिलथिलो भइसकेको र उपचारमा अहिलेसम्म १४ लाख खर्च भइसकेको उनले बताए ।
भट्टसँग अहिले नियमित रूपमा चाहिने औषधी, उपचार र हेरचाहको खर्च धान्न नसक्ने अवस्था छैन । उपचार अभावकै कारण उनी लामो समयदेखि पीडा सहेर ओछ्यानमै बस्न बाध्य भएको उनले सुनाए ।
जयराज भट्टको यो कारुणिक अवस्थाले कलाकारप्रति राज्य र स्थानीय सरकारको प्राथमिकतामाथि प्रश्न खडा गरेको छ ।
भट्टको जीवन रक्षाका लागि सामाजिक सञ्जालबाट सहयोग अभियान सञ्चालन गरेको सामाजिक अगुवा प्रेमसिंह भाटले बताए । देशको कला र संस्कृति जोगाउन जीवन अर्पण गरेका सर्जकको उपचारका लागि राज्यबाट पहल नहुनु निकै दुखद पक्ष रहेको उनले बताए ।
स्वयं गायक भट्टले पनि देश विदेशमा रहेका संगीतप्रेमी नेपालीहरूसँग जीवन रक्षाको अपिल गरेका छन् ।




